सूर्य नेपालद्वारा छातापिपरा ९ लाई पोर्टेबल अल्ट्रासाउण्ड मेसिन सहयोग, स्थानीयवासी लाभान्वित हुने

जितपुरसिमरा उपमहानगरपालिका वडा नं. ९ लाई सूर्य नेपाल प्रा.लि.ले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत पोर्टेबल अल्ट्रासाउण्ड मेसिन सहयोग गरेको छ। स्वास्थ्य सेवाको पहुँच विस्तार तथा स्थानीय नागरिकलाई सहज उपचार सेवा उपलब्ध गराउने उद्देश्यले प्रदान गरिएको उक्त मेसिनप्रति वडा कार्यालय तथा स्थानीयवासीले हार्दिक कृतज्ञता तथा धन्यवाद व्यक्त गरेका छन्।


वडा कार्यालयका अनुसार हालसम्म स्वास्थ्य सेवा पहुँचमा कठिनाइ भोगिरहेका स्थानीय नागरिक, विशेष गरी आर्थिक अवस्था कमजोर भएका परिवारलाई यस सहयोगले ठूलो राहत पुग्ने विश्वास लिइएको छ। पोर्टेबल अल्ट्रासाउण्ड मेसिन उपलब्ध भएपछि गर्भवती महिला, ज्येष्ठ नागरिक तथा विभिन्न स्वास्थ्य समस्या भएका बिरामीले सहज रूपमा प्रारम्भिक स्वास्थ्य परीक्षण सेवा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ।


वडा नं. ९ ले सूर्य नेपाल प्रा.लि.ले सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको यो सहयोग अत्यन्त प्रशंसनीय रहेको जनाएको छ। स्थानीय तहमा स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न निजी क्षेत्रको यस्तो सहकार्य प्रभावकारी हुने वडा कार्यालयको भनाइ छ।


वडा कार्यालयले जारी गरेको धन्यवाद ज्ञापनमा स्वास्थ्य क्षेत्रमा सूर्य नेपाल प्रा.लि.ले देखाएको सहयोग, सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता तथा समुदायप्रतिको सकारात्मक सोचको उच्च मूल्यांकन गरिएको छ। साथै आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा यस्तै सहकार्य र सहयोग निरन्तर रहने अपेक्षा व्यक्त गरिएको छ।


स्थानीयवासीले समेत स्वास्थ्य सेवामा प्रत्यक्ष प्रभाव पार्ने यस्ता उपकरण सहयोगले गाउँ–समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्। उनीहरूले निजी क्षेत्र र स्थानीय तहबीचको सहकार्यले नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।