जीतपुर २४ चैत।जीतपुरसिमरा उपमहानगरपालिकाले वडा नं. ७ अन्तर्गत जीतपुर क्षेत्रमा रहेको सार्वजनिक गौशाला जग्गामा गरिएको अतिक्रमण हटाउन १० दिने सूचना जारी गरेको छ। तोकिएको समयसीमाभित्र अटेर गरेमा अतिक्रमण हटाउने खर्चसमेत सम्बन्धित व्यक्तिबाट असुल गरिने चेतावनी दिइएको छ।

उपमहानगरपालिकाका अनुसार पथलैया–वीरगंज ६ लेन सडकको पूर्व तथा पश्चिम क्षेत्रमा पर्ने साबिक जीतपुर भवानीपुर गाविस वडा नं. ३ अन्तर्गतका विभिन्न कित्ता नम्बरका जग्गामा अनधिकृत रूपमा घरटहरा तथा अन्य संरचना निर्माण गरिएको पाइएको छ।
सूचनामा कि.नं. १ (०–४–१७), कि.नं. २ (०–५–६) र कि.नं. १४१ (०–३–१) मा पर्ने गौचर जग्गा, जुन जीतपुर गौशालाको नाममा सार्वजनिक प्रयोजनका लागि छुट्याइएको हो, त्यहाँ अवैध अतिक्रमण भएको उल्लेख गरिएको छ।
उपमहानगरपालिकाले सम्बन्धित सबैलाई उक्त अतिक्रमण तुरुन्त हटाउन आग्रह गर्दै २०८३ साल वैशाख २ गतेसम्म अन्तिम समयसीमा तोकेको छ। सो अवधिभित्र स्वेच्छाले संरचना नहटाएमा वैशाख ३ गते बिहान ७ बजेदेखि डोजर प्रयोग गरी अतिक्रमित संरचना हटाइने स्पष्ट गरिएको छ।
साथै, अतिक्रमण हटाउने क्रममा लाग्ने सम्पूर्ण खर्च स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४५(४) बमोजिम अतिक्रमणकर्ताबाटै असुल गरिने जनाइएको छ।
उपमहानगरपालिकाले सार्वजनिक सम्पत्तिको संरक्षणलाई प्राथमिकतामा राख्दै यस्ता अतिक्रमणविरुद्ध कडा कदम चालिएको जनाएको छ। स्थानीयवासीलाई कानूनको पालना गर्दै समयमै संरचना हटाई सहयोग गर्नसमेत आग्रह गरिएको छ।


