बिशल सरार्फ सिमरा, साउन २० — बाराको जीतपुरसिमरा उपमहानगरपालिका–५ स्थित श्री नेपाल राष्ट्रिय नमूना माध्यमिक विद्यालय, बकुलियाले विद्यालयको आर्थिक तथा प्रशासनिक कामकारबाहीलाई थप पारदर्शी र जवाफदेही बनाउने उद्देश्यसहित सामाजिक लेखापरीक्षण तथा सर्वपक्षीय छलफल कार्यक्रम सम्पन्न गरेको छ।
बकुलिया क्याम्पसको सभाहलमा विद्यालय व्यवस्थापन समितिका सदस्य तथा सामाजिक लेखापरीक्षण समितिका संयोजक कृष्णप्रसाद चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा विद्यालयले गत आर्थिक वर्षको आय–व्यय र वार्षिक प्रगति विवरण सार्वजनिक गरेको हो।
कार्यक्रममा प्रधानाध्यापक धनञ्जय गौतमले प्रस्तुत गरेको प्रतिवेदनअनुसार विद्यालयले गत आर्थिक वर्षमा १ करोड २६ लाख २७ हजार ९ सय १२ रुपैयाँ आम्दानी गरेको जनाएको छ। वडा नम्बर ५ कार्यालयबाट अतिरिक्त कोचिङ कक्षाका लागि विनियोजन गरिएको ५ लाख रुपैयाँमध्ये २ लाख ७८ हजार ७ सय रुपैयाँ विद्यालयको खातामा प्राप्त भएको जानकारी पनि उहाँले दिनुभयो। यस्तै, छात्राहरूका लागि सेनिटरी प्याड खरिद गर्न स्थानीय सरकारबाट १ लाख ८ हजार ४ रुपैयाँ उपलब्ध भएको उल्लेख गरिएको छ।
प्रधानाध्यापक गौतमले लामो समयदेखि रोकिएको नमूना विद्यालय विकास कार्यक्रम आर्थिक वर्ष २०८१/८२ देखि पुनः सञ्चालनमा आएको र सो कार्यक्रमअन्तर्गत गत वर्ष १३ लाख ७० हजार रुपैयाँ खर्च गरिएको जानकारी दिनुभयो। उहाँले चालु आर्थिक वर्षको अनुमानित आय–व्ययसमेत प्रस्तुत गर्दै शैक्षिक गुणस्तर सुधार र भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट कार्यान्वयन गरिने बताउनुभयो।
शिक्षक प्रतिनिधि सन्तोषकुमार गुप्ताले विद्यालयमा छात्राहरूलाई नियमित रूपमा सेनिटरी प्याड वितरण गरिँदै आएको र यसले किशोरीहरूको विद्यालय उपस्थितिमा सकारात्मक प्रभाव पारेको धारणा राख्नुभयो।
वडा सदस्य इन्दल हाजराले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि अभिभावकको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै अतिरिक्त कोचिङ कार्यक्रमलाई आगामी दिनमा पनि वडा कार्यालयबाट आवश्यक सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमका अध्यक्ष कृष्णप्रसाद चौधरीले विद्यालयका गतिविधिमा अभिभावकको अपेक्षाअनुसार सहभागिता हुन नसकेको भन्दै आगामी दिनमा यसमा सुधार आउने विश्वास व्यक्त गर्नुभयो। साथै, शिक्षक अभावलाई मध्यनजर गर्दै सर्वसम्मत निर्णयका आधारमा विद्यार्थीबाट वार्षिक रूपमा न्यून सहयोग रकम संकलन गरी विद्यालयको शैक्षिक व्यवस्थापन तथा आवश्यक खर्चमा उपयोग गर्ने निर्णय गरिएको जानकारी दिनुभयो।
कार्यक्रममा सहभागी जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक तथा अन्य सरोकारवालाले सामाजिक लेखापरीक्षणले विद्यालयमा पारदर्शिता, सुशासन र उत्तरदायित्व प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुग्ने धारणा राखेका थिए। विद्यालयले यस्ता कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।


