जितपुर–सिमरामा शिक्षा क्षेत्रमा ठूलो बेथिति: सरकारी तलब खाने शिक्षक निजी विद्यालयमा व्यस्त, उपमहानगर मौन देखीएको छ।
जितपुर–सिमरा उपमहानगरपालिकाभित्रका विभिन्न सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू विगत कैयौँ वर्षदेखि संस्थागत (निजी) विद्यालयमा समेत अध्यापन गरिरहेको विषय सार्वजनिक हुँदा शिक्षा क्षेत्रमा गम्भीर प्रश्न उठेको छ। सरकारी तलब सुविधा लिने शिक्षकहरू निजी विद्यालयमा समेत संलग्न भइरहँदा उपमहानगरपालिकाको सम्बन्धित निकाय भने मौन देखिएको स्थानीयहरूको आरोप छ।
सामुदायिक विद्यालयमा पूर्ण समय दिनुपर्ने शिक्षकहरू निजी विद्यालयमा पढाउन व्यस्त हुँदा सरकारी विद्यालयको शैक्षिक गुणस्तरमा प्रत्यक्ष असर परेको अभिभावकहरूको भनाइ छ। विद्यार्थीको भविष्यसँग जोडिएको यस्तो संवेदनशील विषयमा उपमहानगरपालिकाले हालसम्म प्रभावकारी अनुगमन तथा कारबाही नगरेको भन्दै चर्को आलोचना भइरहेको छ।
स्थानीय सरोकारवालाहरूले शिक्षा क्षेत्रको सुधारका लागि तत्काल छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्न माग गरेका छन्। वर्षौंदेखि चलिरहेको यो बेथितिले जितपुर–सिमराको शिक्षा प्रणालीमाथि नै प्रश्नचिन्ह खडा गरेको छ।

