बिशाल सरार्फ जितपुर
आगलागी नियन्त्रण तथा एल.पि. ग्यास सुरक्षा सम्बन्धी एक दिने जनचेतनामूलक कार्यक्रम जीतपुरसिमरा उपमहानगरपालिका–१६, पिलुवामा सम्पन्न भएको छ।

पिलुवास्थित ग्यास वान नेपाल प्रा.लि.को आयोजना र काठमाडौं, चाबहिलको स्टार सेफ्टी सर्भिस प्रा.लि.को प्राविधिक सहयोगमा उद्योग परिसरमै कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा ग्यास प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, सिलिन्डरको बनावट, सुरक्षित भण्डारण तथा सही प्रयोगका उपायबारे सहभागीलाई जानकारी गराइएको थियो।

त्यसैगरी, ग्यास चुहावट हुने वा पाइपमा आगलागी भएको अवस्थामा तुरुन्त अपनाउनुपर्ने उपाय, आगो नियन्त्रण गर्ने तरिका र विपद्का बेला आफूलाई सुरक्षित राख्ने व्यवहारिक पक्षमा समेत डेमो प्रस्तुत गरिएको थियो। सहभागीहरूलाई जोखिम घटाउने र क्षति न्यून पार्ने उपायबारे पनि प्रशिक्षित गरिएको थियो।

कार्यक्रममा वडा नं. १६ का वडा अध्यक्ष हरिदेव खरेलले यस्ता सचेतनामूलक अभियानले उद्योग, परिवार र समुदायलाई सम्भावित दुर्घटनाबाट जोगाउन सहयोग पुग्ने बताए। उनले ग्यासको सुरक्षित प्रयोगबारे जनचेतना विस्तार गर्न यस्ता कार्यक्रम निरन्तर हुनुपर्नेमा जोड दिए।
ग्यास वान नेपाल प्रा.लि.का प्रबन्ध निर्देशक हिडेकि फुकुईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रतिनिधि, स्थानीय विद्यार्थी, उपभोक्ता तथा उद्योगका कर्मचारीहरूको सहभागिता रहेको थियो। स्वागत मन्तव्य कर्मचारी राजकुमार गुरुङले राखेका थिए भने कार्यक्रममा शिक्षाविद् राधेश्याम शिवाकोटी, ४० नम्बर गणका सशस्त्र प्रहरी निरीक्षक कृष्ण पौडेल, युवा व्यवसायी रुपेश न्यौपाने लगायत उपस्थित थिए। कार्यक्रमको सञ्चालन उद्योगका प्रबन्धक सरोजराज ढकालले गरेका थिए।



