निजी विद्यालयलाई पाठ्यपुस्तक फेरबदलमा रोक, उपमहानगरको कडा निर्देशन

जितपुर १७ चैत। बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले संस्थागत (निजी) विद्यालयहरूलाई मनपरी रूपमा प्रत्येक वर्ष पाठ्यपुस्तक परिवर्तन नगर्न निर्देशन दिएको छ। नगर कार्यपालिकाको कार्यालयले जारी गरेको आधिकारिक पत्रमार्फत यस्तो व्यवस्था लागू गरिएको हो।

उपमहानगरपालिकाका अनुसार पछिल्ला वर्षहरूमा विद्यालयहरूले बारम्बार पुस्तक परिवर्तन गर्दा अभिभावकहरू आर्थिक रूपमा मारमा परेको गुनासो बढ्दै गएको छ। एउटै विषयका पुस्तकहरू वर्षेनी फेर्दा पुराना पुस्तक पुनः प्रयोग गर्न नपाइने अवस्था बनेको र यसले विशेषगरी मध्यम तथा न्यून आय भएका परिवारलाई थप भार परेको बताइएको छ।

यस अवस्थालाई ध्यानमा राख्दै नगर प्रमुख राजन पौडेलको निर्देशनमा अब उपमहानगरपालिकाको पूर्व स्वीकृति बिना कुनै पनि निजी विद्यालयले पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने व्यवस्था गरिएको छ। पाठ्यक्रम परिमार्जन वा अन्य अपरिहार्य कारणले पुस्तक परिवर्तन गर्नुपरेमा सम्बन्धित विद्यालयले ठोस कारणसहित अनुमति लिनुपर्ने प्रावधान राखिएको छ।

निर्देशन कार्यान्वयनका लागि शिक्षा महाशाखामार्फत नियमित अनुगमन गरिने उपमहानगरपालिकाले जनाएको छ। यदि कुनै विद्यालयले नियम उल्लंघन गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ।

उपमहानगरपालिकाको यस कदमले अभिभावकको आर्थिक भार घटाउनुका साथै शैक्षिक क्षेत्रमा अनावश्यक खर्च नियन्त्रण, एकरूपता कायम र गुणस्तर सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। स्थानीय अभिभावक संजय यादवले पनि यस्तो निर्णयले आफूहरूलाई राहत मिल्ने विश्वास व्यक्त गरेका छन्।