जितपुर १९ चैत। बारा — माध्यमिक शिक्षा परीक्षा (एसईई)लाई निष्पक्ष, मर्यादित र व्यवस्थित ढंगले सञ्चालन गराउन बारा क्षेत्र नं. ४ मा अनुगमन कार्यलाई तीव्र बनाइएको छ।

यसैक्रममा कृषि अनुसन्धान निर्देशनालयका प्रतिनिधि तथा अनुगमन टोलीका प्रमुख डा. बी.पी. यादवको नेतृत्वमा रहेको टोलीले परवानीपुर गाउँपालिका वडा नं. ३, लिपनीमालस्थित भोज भगत माध्यमिक विद्यालय परीक्षा केन्द्रको स्थलगत निरीक्षण गरेको छ।
अनुगमनका क्रममा डा. यादवले परीक्षा केन्द्रको समग्र व्यवस्थापन, सुरक्षाको अवस्था, परीक्षा सञ्चालनको प्रक्रिया तथा विद्यार्थीहरूको उपस्थितिबारे सूक्ष्म रूपमा अवलोकन गरेका थिए। उनले परीक्षा शान्तिपूर्ण, व्यवस्थित र निर्धारित मापदण्डअनुसार सञ्चालन भइरहेकोमा सन्तोष व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्तै अनुशासन कायम राख्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन्।

उक्त परीक्षा केन्द्रमा तीनवटा पालिकाका विद्यार्थीहरू सहभागी रहेको र परीक्षा सञ्चालनलाई व्यवस्थित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सिसिटिभी क्यामेराको निगरानीलाई प्रभावकारी रूपमा परिचालन गरिएको जनाइएको छ। सुरक्षा व्यवस्था कडा बनाइएकाले परीक्षा निष्पक्ष र मर्यादित रूपमा सञ्चालन हुन सहयोग पुगेको स्थानीय प्रशासनले जनाएको छ।
परीक्षा केन्द्रका केन्द्राध्यक्षले विद्यार्थीहरूलाई सहज वातावरणमा परीक्षा दिनका लागि आवश्यक सबै व्यवस्था मिलाइएको जानकारी दिएका छन्। उनले शिक्षक, सुरक्षाकर्मी तथा सम्बन्धित निकायबीच समन्वय कायम गरी परीक्षा सञ्चालन भइरहेको बताए।

स्थानीय अभिभावक तथा सरोकारवालाहरूले समेत कडा निगरानी र व्यवस्थापनका कारण परीक्षा प्रणालीप्रति विश्वास बढेको प्रतिक्रिया दिएका छन्। यस किसिमको अनुगमनले अनुशासनहीन गतिविधि नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
एसईई परीक्षा देशभर सञ्चालन भइरहेका बेला बारा जिल्लामा पनि सम्बन्धित निकायहरूको सक्रियता बढेको देखिएको छ। निष्पक्ष र मर्यादित परीक्षा सञ्चालनका लागि गरिएको यस्तो कडा अनुगमनलाई सकारात्मक रूपमा लिइएको छ।


