जितपुर ५ बैशाख । वीरगंजको मुख्य सडक आसपास रहेका भौतिक संरचना हटाउने प्रक्रिया अगाडि बढ्ने संकेत देखिएको छ। सम्मानित सर्वोच्च अदालतले २०८१ फागुन २८ गते दिएको आदेश कार्यान्वयनका लागि सम्बन्धित निकायहरू सक्रिय बनेपछि सडक क्षेत्र व्यवस्थापनको तयारी तीव्र भएको हो।
संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं र सडक डिभिजन कार्यालय हेटौंडाले वीरगंज महानगरपालिकासँग समन्वय गर्दै त्रिभुवन राजपथअन्तर्गत मितेरी पुलदेखि गण्डक नहर चोकसम्म २५/२५ मिटर सडक सीमा कायम गर्ने काम अघि बढाएका छन्।
यसक्रममा वीरगंज महानगरपालिकाले सम्भावित संवेदनशीलता र अवरोधलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्थापनका लागि सम्बन्धित निकायसँग सहयोग मागेको छ। महानगरले जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा तथा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गणलाई पत्राचार गर्दै आवश्यक समन्वय गर्न अनुरोध गरेको जनाएको छ।
सडक डिभिजन कार्यालय हेटौंडाले यसअघि नै स्थानीय सञ्चारमाध्यममार्फत सार्वजनिक सूचना जारी गर्दै सीमाङ्कन, रेखाङ्कन, सूचना प्रवाह तथा आवश्यक मेसिन उपकरण प्रयोग गरी सडक क्षेत्र खाली गराउने तयारी भइरहेको जानकारी दिएको थियो।
महानगरपालिकाले अदालतको आदेश कार्यान्वयनमा सबै पक्षलाई सहयोग गर्न आग्रह गर्दै शान्ति सुरक्षा कायम राख्न सुरक्षा निकायसँग सहकार्य जारी रहेको जनाएको छ।
यस निर्णयसँगै वीरगंजको मुख्य सडक क्षेत्र फराकिलो बनाउने, यातायात व्यवस्थापन सहज गर्ने तथा अव्यवस्थित संरचना हटाउने कामले गति लिने अपेक्षा गरिएको छ।

